ब्रेकिन्ग न्युज

जुनार बचाउन ‘प्रोटिन बेट’

भाद्र १ सिन्धुली ‘ब्याक्टेसेरा मिनाक्स’ नामक ‘ढाडे झिँगा’ को आक्रमणबाट जुनार बचाउन ‘प्रोटिन बेट’ छिट्न थालिएको छ। सिन्धुलीको १ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा रहेको जुनारको बगैंचा ‘ढाडे झिँगा’ को आक्रमणबाट जोगाउन ‘प्रोटिन बेट’ छिट्न थालिएको हो। करिब ३ वर्ष अघिदेखि जुनार बगैंचामा देखा परेको ‘ढाडे झिँगा’ नियन्त्रणका लागि २४ हजार जुनारका बोटमा ‘प्रोटिन बेट’ नामक विषादी छिट्न थालिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई जुनार सुपर जोन परियोजनाले जानकारी दिएको छ।

ढाडे झिँगाले जुनारको फलमा औंसा पारिदिने र औंसा कीराले जुनारका सबै फल कुहाईदिएर नष्ट गरिदिने भएपछि ढाडे झिँगा मार्न विषादी छिट्ने काम गरिएको सुपरजोनका कार्यक्रम प्रमुख देवराज अधिकारीले बताए। ‘गत वर्ष चाइनाबाट चाइनिज प्राविधिक ल्याएर परीक्षणका रूपमा ‘प्रोटिन बेट’ नामक विषादी छिट्दा ढाडे झिँगा नियन्त्रणमा आएपछि यस पटकको सिजनामा अभियानका रूपमा विषादी छिटिएको छ’, उनले भने, ‘जिल्लाको जुनार उत्पादनका दृष्टिकोणले पकेट क्षेत्र मानिएका महाभारत क्षेत्रका गोलन्जोर गाउँपालिकाका ५ वटा वडा, तीनपाटन गाउँपालिकाको तोश्रामखोला, सुनकोसी गाउँपालिकाको मझुवा र कमलामाई नगरपालिकाको जलकन्यामा विषादी छर्ने काम भइरहेको छ।’

२६ जना ‘स्प्रे म्यान’ २४ हजार जुनारका बोटमा ‘प्रोटिन बेट’ नामक विषादी छिट्न खटिएको अधिकारीले बताए। स्थानीय जुनार कृषकको ५० प्रतिशत लगानी र परियोजनाको ५० प्रतिशत अनुदानमा विषादी छिट्ने काम गरिरहेको उनले जानकारी दिए।
यतिबेला जुनारको फलमा गुलियो रस पस्न थालेको छ। कृषि प्राविधिक जहानबहादुर कार्कीका अनुसार ‘ब्याक्टेसेरा मिनाक्स’ नामक ढाडे झिँगाले जुनारको फलभित्र फूल पार्छन् । जुनारमा गुलियोपन बढ्दै जाँदा बढ्ने झिँगाका लार्भाले भित्रभित्रै खाएर फल नै बिगार्ने गरेका कारण त्यस्ता झिँगालाई जुनारको बोटमा बस्नेबित्तिकै मर्ने गरी ‘प्रोटिन बेट’ नामक विषादी छिटिएको हो।

जुनारको फल कुहाउने औंसा पार्ने किराको पोथी झिँगालाई फुल पार्न प्रोटिनको आवश्यकता पर्छ । प्रोटिन बेटमा दुई भाग पानी मिसाएर १० देखि १२ हप्तासम्म छर्दा ढाडे झिँगा नियन्त्रण हुने भएपछि कृषककै सहभागितामा विषादी छिट्ने काम भइरहेको सुपरजोनका कार्यक्रम प्रमुख अधिकारीले बताए। यस्ता जुनारका बोटमा सातामा एकपटक विषादी छिट्ने गरिएको छ। यो १२ हप्तासम्म छिट्नु पर्छ।

अघिल्लो पटक यस्ता विषादी नछिटिएको जुनारका बगैंचामा ५० देखि ८० प्रतिशतसम्म जुनारको फल कुहाइदिएको थियो। नेपालकै जुनार फलको विकास भएको र सबैभन्दा बढी जुनार उत्पादन हुने जिल्लामा जुनारको फल कुहिन थालेपछि दुई वर्षयता जुनार कृषक चिन्तित थिए।

जिल्लामा गत वर्ष ८ हजार ५ सय मेट्रिक टन जुनार उत्पादन भएको थियो । हरेक वर्षजसो झन्डै ११ हजारदेखि १३ हजार मेक्ट्रिकटनसम्म जुनार उत्पादन हुँदै आए पनि ढाडे झिँगाको संक्रमणका कारण गत वर्ष जुनार उत्पादनमा कमी आएको हो। जुनारबाट कृषकले वार्षिक करिब ३० करोड रुपैयाँ आम्दानी गर्दै आएका छन्।

श्रोत अन्नपूर्ण पोष्ट