ब्रेकिन्ग न्युज

सुख्खा खेतमा धान रोप्दै भरतपुरका किसान

२० साउन, चितवन । भरतपुर महानगरको पश्चिम र पूर्व क्षेत्रबाट दुई ठूला नदीहरु बगिरहेका छन् । बर्खामा उर्लिएका नारायणी र राप्तीको काखमा रहेको भरतपुर महानगरपालिकाका किसानका खेत भने साउन मध्यसम्म पनि बाँझै छन् । छरेको बीउ छिप्पिदै जान थालेपछि किसानहरुले पानी विनाकै खेतमा कोदो जस्तैं गरी धान रोपिएका दृश्यले सबैको मन दुखाउछन् ।

भरतपुर महानगरपालिकाको पश्चिम चितवनका किसानहरुको खेत रोप्ने कुनै विकल्प छैन । न आकाशबाट पानी बर्सिन्छ, नत नहरले छोएको छ, नत बोरिङ खन्न नै सकिन्छ । नजिकै बगिरहेका ठूला नदीको दृश्य नियाल्दै कोदो जस्तैं धान रोप्न बाध्य छन् यहाँका किसान ।
अघिल्ला अघिल्ला बर्षहरुका घोल बनेर डुब्ने खेतहरु समेत यसपटक कमिला तर्ने जस्तो बनेका छन् । जग्गा व्यापारीले कित्ताकाट गरेर बाँकी रहेका खेतहरुमा नहरको पहुँच, भूमिगत स्रोत नै बिथोलिएको छ । नहरमा पानीको मात्रा घट्दै गएकाले अहिले पश्चिम चितवनका अधिकांश खेतमा पानीको अभाव छ ।

भरतपुर महानगरपालिका २१ का किसान नन्दलाल ढकालले बीउ मर्ने डरलेसुख्खा खेतमा नै रोपाइँ गरेको सुनाए । भरतपुर महागनरपालिका वडा नः ५ मा समेत अवस्था उही छ । पश्चिम चितवनको छ हजार बिघा खेतलाई सिञ्चाइ गर्ने नहरमा पानी नहुँदा रोपाईंनै प्रभावित भएको छ । दुई मिटर पानी हुनुपर्ने नहरमा अहिले जम्मा ३० सेन्टिमिटर मात्रै पानी रहेकाले समस्या आएको हो ।

भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी प्रर्वद्धन शाखाका प्रमुख काशीराज हमालले महानगरपालिका क्षेत्र भित्र ८० प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ भएको दावी गरे । महानगरपालिका क्षेत्रमा नहरको पहुँच नभएको ठाँउमा कतिवटा बोरिङ छन् भन्ने तथ्यांक पनि महानगरपालिकासँग छैन ।

पूर्वी चितवनका किसानका खेतमा रोपिएको बीउ मौलाउँदै गजाउँदै आउन थालेको छ, तर पश्चिम चितवनमा भने अझैं रोपाइ गर्न सक्ने अवस्था छैन । भरतपुर महानगरपालिकाको पश्चिम चितवनका लागि भनेर नारायणी नहर र खगेरी नहर छन् । खगेरी नहरमा खासै पानी छैन भने, नारायणीको पानी कहाँ गइरहेको छ, पत्तो छैन ।

नारायणी तथा खगेरी सिञ्चाई डिभिजन कार्यालयका प्रमुख खेमबहादुर पाठकले खगेरीमा पानी कम हुँदा नारायणीको पानी लगेर हालिएको बताउँछन् । नारायणी लिफ्टका दुईवटा पम्पले दैनिक ८ हजार लिटर पानी प्रति सेकेण्ड तानिरहेका छन् । तर, अवस्था जस्ताको त्यस्तै छ ।

पश्चिम चितवनको रामपुर, शारदानगर, गुञ्जनगर, पार्वतीपुर, मेघौली क्षेत्रमा नहरको पहुँच खास छैन । तर, नजिकै नारायणी र राप्ती नदी भने छ । बर्खाका ४ महिना चल्ने यी नहर हिउँदमा बन्द हुन्छन् । उर्वर भूमि भएर पनि हिउँदमा सिचाई नहुँदा पश्चिम चितवनमा मुलत एक बाली मात्रैं खेती हुन्छ । अरु समय बाँझै ।

के हो नारायणी लिफ्ट रु

२०३५ सालदेखि निर्माण शुरू भई २०४० सालमा सञ्चालनमा आएको नारायणी लिफ्टमा पानी तान्नका लागि चारवटा पम्प छन् । दुईवटा पम्पको क्षमता एक सेकेण्डमा दुई हजार लिटर तथा अरु दुईवटा पम्पको क्षमता एक सेकेण्डमा चार हजार लिटर पानी तान्ने रहेको छ ।
पश्चिम चितवन क्षेत्रमा सिञ्चाई सुविधा उपलब्ध गराउन भनेर ५२ करोडको लगानीमा निर्माण गरिएको नारायणी लिफ्टमा ३ वटा क्यानल छन् । नारायणी लिफ्टको ‘ए’ क्यानल पाँच सय मिटर, ‘बी’ क्यानल १९ किलोमिटर र ‘सी’ क्यानल १६.५ किलोमिटर लामो छ । नारायणी लिफ्टको पानि बी र सी नहरका लागि विभाजन हुने गरेको छ ।

बी नहरले यज्ञपुरी, नारायणपुर, तोरीखेत, पारसनगर, देवनगर र फुलबारीसम्मको जमिनमा सिञ्चाई सुविधा उपलब्ध गराउँछ भने, सी नहरले बसेनी, भोजाड, टिकौली जंगल छेउ छेउ हुँदै गौरीगञ्ज सम्म सिञ्चाई पुर्‍याएको छ । भरतपुर महानगरपालिका १ मा रहेको जोरकुसुम पार्क नजिक नारायणी नदीको पानी २२ मिटरमाथि लिफ्ट गरेर मुख्य नहरमा ल्याइन्छ । त्यसको पाँच सय मिटर पर पुनः दुई वटा शाखा निर्माण गरी पानी पठाइएको छ । १८ मिटरमाथि लिफ्ट गरेर सि नहरबाट र लिफ्ट नगरी बी नहरबाट पानी पठाइन्छ ।

नहर अतिक्रमण हुनुअघि नारायणी लिफ्टले चार हजार ७०० हेक्टर जमिन सिञ्चाई गर्दै आएको थियो । अहिले तीन हजार ५०० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । यो घट्ने क्रम जारी छ । नारायणीबाट लिफ्ट गरेको पानीलाई खगेरी सिञ्चाईमा लगेर थप ३ हजार हेक्टरभन्दा बढी खेतमा सिञ्चाई गर्न पनि सकिन्छ । मेसिन पुरानो भएको र पम्प बिग्रने कारणले नारायणीको पानी हिउँदमा लिफ्ट गर्न नसकिएको बताउँछन् कार्यालयका नारायणी लिफ्ट खगेरी सिञ्चाई व्यवस्थापन डिभिजनका प्रमुख खेम पाठक ।
अतिक्रमणले खायो नहर

खगेरी सिञ्चाई प्रणाली र नारायणी लिफ्ट प्रणालीले चितवनको ८ हजार ६ सय हेक्टर सिँचाइ गर्दै आएकोमा अहिले त्यसको भागमा १ तिहाई घटेकोे छ । नहर मासेर सडक बनाउनमा महानगरका वडाध्यक्षसमेत लागेका छन् । मिचिएको नहरमाथि सडक पिच गर्न सांसदले नै पैसा दिने गरेका छन् । नहरमा पानी नछोडेपछि जल उपभोक्ता समूह पनि रहेनन् । भरतपुरको नारायणपुर, कैलाशनगर, तोरीखेत, कल्याणपुरका खेतीयोग्य जमीनका अधिकांश जमीन प्लटिङमा रूपान्तर भएका छन् ।

जमीन घडेरीमा परिर्वतन भएसँगै कतिपय जमीन बाँझै रहेको छ । अहिले त्यस क्षेत्रमा नहरबाट सिँचाइ गर्ने किसान घटेका छन् । नहरका विभिन्न ठाउँमा कालोपत्र बाटो, पार्किङ, पार्टी प्यालेस घर, आँगन र बस्ती बनेका छन् । व्यक्ति, समूह र सरकारी कार्यालयले समेत अतिक्रमण गरेको पाइएको छ । नारायणी लिफ्ट आयोजनाअन्तर्गत ३५ ओटा जल उपभोक्ता समूह रहेकोमा अहिले २५ वटामा सीमित छ ।
श्रोत अनलाईन खबर