ब्रेकिन्ग न्युज

बालीमा विषादी नहाल्ने शपथ

जेठ १७ लेखनाथ कास्कीको एक गाउँले विषादी प्रयोग गर्दैन । माछापुच्छ्रे गाउँपालिकाको घाचोकमा रहेको भलाबोट सात वर्षयता विषादीमुक्त छ । गाउँका महिलाले खेती बालीमा विषादी नहाल्ने शपथै खाएका छन् । अन्नपूर्णर् महिला प्रांगारिक सहकारी संस्थाकी कार्यवाहक अध्यक्ष मीना पोखरेलले मुग्लिनमा काउलीको डाँठ गाईबस्तुलाई पनि नखुवाई फालेको देखेपछि आफूहरूले पनि तरकारीमा विषादी नहाल्ने निर्णय गरेको सुनाइन् । ‘सहकारी भ्रमणमा जाँदा मुग्लिनमा काउलीको डाँठ गाईबस्तुलाई पनि नखुवाइ फालेको देख्यौं,’ उनले भनिन्, ‘विषादी प्रयोगका कारण त्यसो गरिएको रहेछ । पशुसमेत बिरामी पर्छ भनेर नखुवाउने तरकारी हामीले खाने रहेछौं ।’

संस्थाकी कार्यवाहक अध्यक्ष मीना पोखरेलका अनुसार २०६९ मा सहकारीका सदस्यले खेतीबालीमा विषादी नहाल्ने शपथ खाएका छन् । सहकारीले हाल १२ रोपनी जमिनमा सामूहिक बदाम खेती गरिरहेको छ ।

त्यसमा सहकारीले प्रांगारिक मल प्रयोग गर्छ । गोठेमल, कुखुराको सुली, झोल मल प्रयोग गर्ने सहकारीकी कोषाध्यक्ष पार्वती पोखरेलले बताइन् । ‘विषादी प्रयोग गरिएको तरकारी खानेलाई भन्दा छर्नेलाई बढी रोग लाग्ने थाहा पायौं,’ उनले भनिन्, ‘घरमा एक महिलाको मृत्यु हुनेबित्तिकै छोराछोरीको बिचल्ली हुने सम्झेर विषादी प्रयोग नगर्ने प्रण गर्‍यौं ।’ उनका अनुसार बदामले राम्रै मुनाफा दिइरहेको छ ।

सहकारीले सुरुको वर्षमा ५ रोपनी जग्गा भाडामा लिएर बदाम खेती थालेको थियो । बदाम घुम्ती बाली भएकाले एकपल्ट बदाम लगाएको जमिनमा अर्को वर्ष लगाउन मिल्दैन । चैतको अन्तिम सातादेखि वैशाखको पहिलो साताभित्र बदाम लगाउनुपर्छ । जेठको मध्यतिर गोडमेल गर्नुपर्छ । दसैं र तिहारको बीचमा खन्न मिल्छ । प्रतिरोपनी ८ मुरी बदाम उत्पादन हुन्छ ।

मुरीको १० हजार रुपैयाँका दरले बदाम गाउँमै बिक्छ । ‘पोखराबाटै बदाम किन्न गाउँमा पुग्छन्,’ कोषाध्यक्ष पोखरेलले भनिन्, ‘बजारको समस्या छैन ।’ अन्य बालीको तुलनामा मुनाफा धेरै हुने र बजारको समस्या नभएकाले बदाम खेती रोजेको उनी बताउँछिन् । सहकारीले ३ वर्षअघि ज्योति, झुप्पा र जानकी जातका बदाम परीक्षणस्वरूप खेती गर्‍यो ।

स्थानीय जातले जस्तो उत्पादन नदिएपछि सहकारीले अर्को वर्ष ती बदाम लगाउन छाड्यो । सामूहिक मात्रै होइन, सेयर सदस्यले आ–आफ्नो घरमै बदाम खेती गरेका छन् । एक घरले वार्षिक ५ मुरी बदाम उत्पादन गर्छन् ।
श्रोत कान्तिपुर