ब्रेकिन्ग न्युज

छोड्नु न गर्नुको स्थिीतिमा ः चिया खेती

इलाम भन्ने वित्तिकै हामि सबैको मानसपटलमा चियाको बोटहरुले डाँडै हरियो बनाएको अति नै रमणिय जिल्लाको चित्रण आउँछ र वास्तविकता पनि त्यहि हो । हुनपनि कृषि क्षेत्रमा पाँच ‘अ’ उत्पादन गर्ने जिल्लाको रुपमा परिचय स्थापित गरेको नेपालको पहाडि जिल्ला इलाम पुग्दा प्रकृतिले समय मिलाएर श्रृङ्गारगरी हरियो घुम्टो आढाएर तयार गरेको बेहुली झै लाग्छ । पाच अ मा अलैँचि,अदुवा,अम्रिसो,ओलन (दुध),अकबरे खुर्सानी लगायतका पर्दछन् । इलाम निर्यात योग्य कृषि वस्तु उत्पादन गर्ने मुख्य जिल्ला हो ।

प्रकृतिक बातावरण र भौगोलिक बनोट समेत रमणिय रहेको यस जिल्लामा कृषि उत्पादनको २० प्रतिशत क्षेत्र चिया खेतीले ढाकेको छ । १५ हजार भन्दा धेरै किसानहरुले व्यवसायिक रुपमा चियाको खेती गर्दैै आएका छन् । यस जिल्लामा उत्पादन हुने सबै चिया अर्थोडक्स चिया कै रुपमा तयार गरिदै आएको चिया विस्तार योजना फिक्कलका प्रमुख रामएकवाल यादवले जानकारी दिए । उनका अनुसार इलामको चियाले छिमेकी मुलुक भारतको दार्जलिङ्ग चिया सँग राम्रो प्रतिष्पर्धा गर्न सक्छ ।

यति राम्रो संभावना भएको चिया खेतीबाट भने इलामेली किसानहरु निराश हुन थालेका छन् । हरियोपत्ति चियाको बजारमुल्य लागत अनुसार नभएकाले किसान निराश भएका हुन् । ३२ वर्ष देखी चिया खेती गर्दै आएका इलाम मंगलबारेका किसान देव बहादुर खत्रीका अनुसार एक किलो हरियोपत्ति चिया उत्पादन गर्न किसानको नै ४० रुपैँया भन्दा बढि लागत लाग्छ । तर सो हरियोपत्ति प्रशोधन कारखानालाई विक्री गर्दा अधिकतम ४५ रुपैँया देखी न्यूनतम १५ रुपैँया मात्रैैमा विक्री गर्नुपर्ने अवस्थाले चिया किसान यो पेशाबाट पलायन हुने अवस्थामा पुगेको उनले दुखेसो पोखे ।

उनका अनुसार लामो समय देखी चिया खेतीमा संलग्न रहदै आएका किसानलाई हरियोपत्तिको असमान मुल्यले निराश बनाएको छ । कामदारको समस्याले प्रत्येक वर्ष लागत अझ धेरै बढ्दै गएको उनको गुुुुुुुुुुुुुुुुुुुुुनासो छ । चिया रोपेको ५–६ वर्ष पछि मात्र हरियोपत्तिको उत्पादन शुरु हुन्छ, तर लामो समयको प्रतिक्षा पछि आम्दानि लिने समयमा भने उचित मुल्य नपाउँदा केहि वर्षयता देखी चियाको नयाँ बगान निर्माण हुनै छाडेको किसान तिलक बहादुर थापा बताउँछन् । उनका अनुसार प्रशोधन कारखाना पिच्छे हरियोपत्तिको मुल्य फरक भएकाले किसानलाई अझ समस्या थपिएको छ ।
२० रोपनी क्षेत्रफलमा चिया खेती गदै आएका अर्का किसान दावा तामाङ भन्छन्, चिया खेती हेर्दा जति आनन्द र रमाइलो लाग्छ त्यस भित्रको पिडा छुट्टै छ । ८ महिना सम्म चियाको हरियोपत्ति टिपेर विक्रि गर्दा किसानको लागत उठ्न समेत मुस्किल भएको छ । हालको अवस्थामा चियाको राम्रो मुल्य पाइयो भने पनि १५ प्रतिशत सम्म नाफा लिन सकिने तामाङ् बताउँछन् ।
किसानको समस्या सँगै साना उद्योगीहरुको पनि समस्या उस्तै भएको मेचि भ्याली चिया प्रशोधन उद्योग बरबोटे ५ इलामका व्यवस्थापक विकेश प्रधान बताउँछन् । उनका अनुसार चियाको मुल्य राम्रो लिन हरियोपत्ति टिपाई देखी नै ध्यान दिनुपर्छ । तर हरियोपत्ति टिप्ने किसानहरुलाई कति समयमा कति पाते पत्ति टिप्ने भन्ने विषयमा जानकारी नहुँदा पहिलो टिपाई भन्दा पछिल्लो टिपाईको मुल्य गुणस्तरको आधारमा कम हुदै जाने प्रधानको दाबी छ । उनका अनुसार नेपाली चियाको मुख्य समस्या बजारीकरण हो । चियाको गुणस्तरको आधारमा तयारी चियाको मुल्यनिर्धारण हुन नसक्दा किसान र उद्योगी दुवैलाई समस्या भएको प्रधानको भनाई छ ।

चिया क्षेत्रमा देखिएको समस्याले किसानहरु बैकल्पिक व्यवसाय अलैँचि ,अदुवा , अम्रिसो खेती तथा पशुपालन तर्फ अग्रसर हुन थालेका चिया विस्तार योजना फिक्कलका प्रमुख राम एकवाल यादवले जानकारी दिए ।

सामान्यतया एक रोपनी जग्गामा अलैंची लगाउँदा राम्रो भएमा २ मन सम्म फल्ने र हालको बजार भाउ अनुसार त्यसको मुल्य २ लाख सम्म हुने स्थानिय कृषक दावा तामाङ बताउँछन् । चियामा भन्दा अन्य क्षेत्रमा राम्रो आम्दानी लिन सकिने भएपछि किन चिया खेती नै गर्छन् र ? उनले प्रश्न गरे । अलैंची पानी हुने र ओसिलो ठाउँमा मात्रै हुने भएकाले पानिको कमि भएको पाखोबारी तिर अदुवा,अम्रिसो जस्ता नगदेबालीहरु किसानले लगाउन थालेका छन् । राम्रो मुल्य पाउन छाडेपछि किसानले पनि चिया बगानको स्याहार सुसारमा कम ध्यान दिन थालेको इलामेली चिया सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद सुवेदीले जानकारी दिए ।

अक्सन सेन्टर खुल्ने कुरा मात्रै भयो ः उद्योगी

नेपाली चिया क्षेत्रमा ठुला टि स्टेट सँगै साना किसानहरु समेत संलग्न रहदै आएका छन् । जसले गर्दा चियाको सहि गुणस्तर व्यवस्थापन गर्न सजिलो छैन । यहि यथार्थलाई मनन गर्दै चियाको गुणस्तरको आधारमा क्रेताले मुल्य दिनका लागि (अक्सन हाउस) खोल्ने विषय ४ वर्ष देखी उठ्दै आएको र यस तर्फ बोर्डले केहि कदम चालेको भएपनि विभिन्न कारणले यसको स्थापना नहुँदा समस्या भएको उद्योगीहरुको गुनासो छ ।

हिमालय साङ्ग्रिला टि प्रोड्युसर प्रा.लिका बजार व्यवस्थापन प्रमुख कमल मैनालीका अनुसार नेपाली अर्थोड्क्स चियाको माग युरोपियन मुलुकहरुमा धेरै भएपनि अक्सन सेन्टरको अभावमा गुणस्तरिय र अर्गानिक प्रमाणित चिया बाहिर निर्यात गर्न समस्या छ ।

उनका अनुसार दार्जलिङ्ले आफ्नो चियाको ब्रान्ड बनाएको भएपनि भारतको आसाममा अक्सन हाउसको व्यवस्था छ । नेपालमा साना किसान र सहकारीहरुले उत्पादन गरेको चिया फरक –फरक गुणस्तरको हुने भएकाले विदेशी व्यापारीहरु जो नेपाली चिया खरिद गर्न चाहान्छन् उनिहरुलाई एकै स्थानमा धेरै किसीमका चियाहरु विक्रिका लागि राखीने हो भने जुन चिया उनिहरुलाई मनपर्छ सोहि चियाको ब्रान्ड र बजार बन्ने मैनालीको धारणा छ ।

त्यसैगरी मेची भ्याली टि प्रोसेसिङ् उद्योग फिक्कलका व्यवस्थापक विकेश प्रधान पनि अक्सन सेन्टर नखुले सम्म नेपाली व्यापारीले भारतिय चिया व्यापारीहरु सँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँछन् । उनका अनुसार उस्तै गुणस्तरको तयारी चिया दार्जलिङ्को भन्दा नेपालको धेरै सस्तोमा विक्री गर्नुपर्ने समस्या रहदै आएको छ यसलाई निराकरण गर्न अक्सन सेन्टर अनिवार्य भएको छ ।
कार्यक्रम बजेट भएपनि निर्यात राम्रो

चिया क्षेत्रको विकासका लागि सरकारी बजेट अपुग नै भएपनि व्यापार प्रवद्र्धन केन्द्रले दिएको गत आर्थिकवर्षको तथ्याङ्क हेर्ने हो भने २ अर्ब २ करोड ९४ लाख ३९ हजार रुपैयाँ बराबरको ११ हजार ३ सय ५७ मेट्रिकटन चिया निर्यात भएको छ ।

यसमा परिमाणको आधारमा सि.टि.सी चियाको निर्यात धेरै भएपनि मुल्य र मागको आधारमा अर्थोाड्क्स चिया धेरै भएको राष्ट्रिय चिया तथा कफि विकास बोर्डका योजना अधिकृत गौरब लुईटेलले जानकारी दए । उनका अनुसार नेपालमा उत्पादन भएको ९० प्रतिशत चिया भारत निर्यात हुने गरेको छ, भने बाँकि १० प्रतिशत अर्थोड्क्स चिया जर्मन लगायतका तेस्रो मुलुकहरुमा निर्यात हुदैँ आएको छ ।

३ अरब लगानी भएको चिया सहकारी क्षेत्र

नेपाली चिया उद्योग क्षेत्रमा सहकारी क्षेत्रको योगदान धेरै रहेको छ । हाल चिया क्षेत्रमा मात्र संलग्न रहदै आएका किसानको संख्या ७ हजार भन्दा धेरै छन् ।

इलाम,पाँचथर,धनकुटा,ताप्लेजुङ्,झापा जिल्लाका गरी ९७ वटा चिया सहकारीहरु आबद्ध रहेको केन्द्रिय चिया सहकारी संघ इलामका महासचिव रविन राईका अनुसार हाल सहकारी मार्फत चिया क्षेत्रमा ३ अरब भन्दा धेरै लगानी भएको छ ।
उनका अनुसार सहकारी मार्फत १३ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुदै आएको छ भने १८ वटा सहकारी संस्थाले आफ्नै प्रशोधन उद्योग मार्फत किसानले उत्पादन गरेको हरियोपत्ति चियाको प्रशोधन र बजारीकरणमा काम गर्दै आएको छ ।