ब्रेकिन्ग न्युज

अज्ञात रोगले मौरी मरेपछि बैतडीका किसानहरु चिन्तित

बैतडी : अज्ञात रोगले मौरी मरेपछि बैतडीको दशरथचन्द नगरपालिका–५, पोटाका मौरीपालक किसान सुदर्शन लेखक चिन्तामा छन्।

व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका लेखकका केही दिनअघि २० घार मोरी मरेका हुन्। केही वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका उनी वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्थे।

सेरेना जातको मौरी पालेका लेखकले मह र मौरीका घार बेचेर आम्दानी गर्दैै आएका थिए। तर यो वर्ष उनलाई धेरै घाटा भएको छ। एक्कासी मौरी मर्न थालेपछि व्यवसाय नै चौपट होलाजस्तो भएको लेखकले बताए। उनले भने, ‘घारभित्रै एकाएक मौरी मर्न थाले। यसले मलाई ठूलो घाटा लागेको छ।’

एक सय २० घार मौरी पालेका लेखकले रोग पत्ता लगाउन कृषि प्राविधिक घरमा बोलाएर पनि सफल नभएको सुनाए। उनले भने, ‘घरमै कृषि प्राविधिक ल्याएर पनि रोग पत्ता लगाउने प्रयास गरेको हुँ। मौरी के कारणले मरे भन्ने विषयमा जानकारी हुन सकेन।’

२० घार मौरी मरेपछि करिब साढे तीन लाखभन्दा बढीको क्षति भएको किसान लेखकले बताए। उनले भने, ‘यो वर्ष मौरीपालन व्यवसायमा निकै ठूलो झट्का लाग्यो। अज्ञात रोगले मौरी मरेपछि व्यवसाय नै धरापमा परेको छ।’

सेरेना जातको मौरी पालेका किसान सुदर्शन लेखकले वार्षिक १५ क्विन्टल मह बिक्री गर्दै आएका छन्। तर, यो वर्ष मौरी नै मरेपछि मह उत्पादनमा समेत ह्रास आएको उनले बताए। नागार्जुन मौरीपालन उद्योग दर्ता गरेर व्यावसायिक मौरीपालनमा लागेका किसान लेखकले दुईजनालाई रोजगारीसमेत दिएका छन्।

अज्ञात रोगले जिल्लाका अन्य ठाउँका किसानका मौरी पनि मरेका छन्। मौरीको लार्भा नै मरेपछि ठूलो क्षति पुगेको दोगडाकेदार गाउँपालिका पीपलकोटका मौरीपालक किसान इन्द्रदेवशरण भट्टले बताए। उनले भने, ‘हाम्रो गाउँमा सय घार जति माहुरी मरेका छन्। यसले हामीलाई ठूलो नोक्सान भएकोे छ।’

वार्षिक १० क्विन्टलभन्दा बढी मह उत्पादन गर्ने गरेका भट्टले यो वर्ष ४२ घार मौरी मरेको बताए। ४२ घार मौरी मर्दा ४ लाखभन्दा बढीको क्षति भएको र मह उत्पादनमा पनि कमी आएको उनले बताए।

केही वर्षअघि घरको भित्ता र मुढामा एक÷दुई घार मौरी पाल्ने बैतडीका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन्। गत वर्ष बैतडीमा ९५ मेट्रिक टन मह उत्पादन भएको थियो। यो वर्ष १० मेट्रिक टन मह उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

जिल्लामा चार हजार सात सय आधुनिक घार र सात हजार आठ सय मुढेघार रहेको केन्द्रले जनाएको छ। उपयुक्त मौसम र मौरीमा रोगको प्रकोप नदेखिएकामा बर्सेनि मह उत्पादन बढ्ने भए पनि समयसमयमा मौरी मर्दा मह उत्पादन तुलनात्मक रूपमा बढन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख कर्णबहादुर चन्दको भनाइ छ।
श्रोत अन्नपूर्ण पोष्ट