ब्रेकिन्ग न्युज

फरार भए सिड्स बैकका संचालक किसानको लाखौँ रकम ठगेर

ओखलढुंगा : किसानलाई कुखुराका दाना, चल्ला र व्यवसायिक कृषिका लागि बीउबिजन उपलब्ध गराउँदैआएको सिड्स बैंकका सञ्चालक किसानको लाखौं रकम उठाएर फरार भएका छन् ।

उत्पादित मासु बजारिकण गर्न, बीउ तथा दाना र चल्ला उपलब्ध गराउन बैंकमा पैसा जम्मा गर्न लगाएर सञ्चालक सुवास कार्की फरार भएका हुन् । चम्पादेवी गाउँपालिका–६ का कार्की किसानले जम्मा गरेको रकम लिएर फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले ठगिएका किसानको रकम यकिन गरेर मुद्दा चलाउने बताएका छन् ।

बैंकमा काम गर्ने दुईजना कर्मचारीलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको पनि उनको भनाइ छ । प्रहरीले उक्त बैंकका कर्मचारी अशोक दाहाल र अनिल फुयाललाई प्रहरीले तारिखमा राखेर अनुसन्धान गरिरहेको छ ।

सिद्धिचरण नगरपालिका–११ का स्थानीय प्रकाशचन्द्र श्रेष्ठले बैंकमार्फत ५ लाख रुपैयाँ कुखराको दानाका लागि बैंकमा लगानी गरेको बताउँछन् । उक्त रकम सनराईज बैंकमार्फत खातामा जम्मा गरेपछि रकम लिएर सञ्चालक फरार भएको उनको गुनासो छ ।

तरकारी खेती तथा पशुपंक्षी व्यवसाय गर्ने किसानहरुलाई सहुलियत दिने भनेर रकम लिएपछि सञ्चालक भागेको अर्का पीडित किसान रविन कार्कीले बताए । उनले आफूले चल्ला, दाना सहुलियतमा दिने र उत्पादित मासु समेत निर्यात गरिदिने सम्झौता गरेर रकम दिए पनि सेवा नपाएको बताए ।

कार्कीका अनुसार प्रत्येक किसानसँग २० हजारदेखि पाँच लाखसम्म रकम लिएपछि बैंकका सञ्चालक भागेका हुन् । आफूले दिने सेवा नदिइ सञ्चालक भागेको थाहा पाएपछि किसानहरुले जनप्रतिनिधि र प्रहरी गुहारेका छन् ।

ठगिएका किसान यकिन नभए पनि ५२ जनाले प्रहरीमा गुनासो गरेका छन् । प्रहरीले पीडित किसानलाई यकिन विवरण सहित उजुरी गर्न आग्रह गरेको छ । प्रहरी निरिक्षक श्रेष्ठले ठगिएको रकम यकिन भएपछि मुद्दा दर्ता हुने बताए । सञ्चालक कार्कीको खोजी भइरहेको पनि उनले जानकारी दिए ।

चार महिनाअघि सञ्चालनमा आएको सिड्स ब्यांकले सुरु सुरुमा किसानलाई प्राविधिक सल्लाह दिनुका साथै बीउ, दाना तथा चल्ला उपलब्ध गराएको थियो । किसानले विश्वास गरेर दिएको अग्रिम भुक्तानी रकम पाएपछि सञ्चालक फरार भएका हुन् । उक्त बैंकमा काम गर्ने कर्मचारी र प्राविधिकले सञ्चालक सुवास कार्कीले आफूलाई फसाएको प्रहरीमा बयान दिएका छन् ।

श्रोत अन्नपूर्ण पोष्ट