ब्रेकिन्ग न्युज

छुर्पी बाट वार्षिक ५० लाख आम्दानी गर्दै पौडेल

तेह्रथुम : लालीगुराँस नगरपालिका–४ का ४८ वर्षीय देवेन्द्र पौडेल छुर्पी बिक्रीबाट वार्षिक ५० लाख आम्दानी गर्छन्। २ वर्ष अघिदेखि व्यावसायिक छुर्पी उद्योग सञ्चालन गरी पौडेलले मनग्गे आम्दानी गर्न थालेका हुन्।

करिब १४ वर्षसम्म वैदेशिक रोजगारीमा रहे पनि सोचेजस्तो कमाउन नसकेपछि निराश भएर आफ्नै गाउँ फर्किएका उनले इलामको नाम्सालिङमा दुई वर्ष दूधबाट बन्ने परिकार बनाउन सिके। सिकेको सीप प्रयोग गर्दै ०७३ असोजमा गाउँका साथीसँग सल्लाह गरेर उनले ‘नमुना छुर्पी उद्योग’ खोले।

सानो छँदा नै आमा गुमाएका देवेन्द्रको बालापन गाईगोठ स्याहार्न मै बित्यो। ‘मैले १६ वर्षसम्म लेकमा गाईभैंसीसँग समय बिताएको छु’, उनले भने,‘ त्यो समयमा सबैसाथी विद्यालय जान्थे तर मलाई विद्यालय कस्तो हुन्छ भन्ने थाहा थिएन र अझै पनि छैन।’

प्रवासको उराठ लाग्दो बसाइपछि इलाममा सिकेको परिकार बनाउने कला र सानो छँदा गोठमा परम्परागत छुर्पी बनाउन जानेका पौडेलले ४८ हजारको दूध र क्रिम छुट्याउने हाते मेसिन किनेर छुर्पी बनाउन सुरु गरे। छुर्पी बनाउन गाईभैंसीको दूध आवश्यक पर्छ।

‘सुरुमा गाउँमा कसैले पनि दूध दिन मानेनन्’, उनले भने, ‘दूधको दाम प्रत्येक महिना नअड्काई दिन थालेपछि अहिले सबैले दिन्छन्।’ आफन्त र साहूसँग करिब पाँच लाख ऋण गरि छुर्पी बनाउन चाहिने आवश्यक औजार र सामग्री खरिद गरेर निरन्तर छुर्पी बनाउन थालेसँगै आम्दानी पनि राम्रो हुन थालेको उनको भनाइ छ। ‘मासिक पाँचदेखि सात क्विन्टलसम्म छुर्पी उत्पादन गर्दैछु’, उनले भने।

देवेन्द्रको उद्योगमा तीन जनाले रोजगारीसमेत पाएका छन्। कामदारले मासिक १५ हजार रुपैयाँ पाउँछन्। देवेन्द्र आफै छुर्पी बनाउन खट्छन्।

इच्छाशक्ति भए स्वदेश मै आत्मनिर्भर बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका पौडेलको उद्योगमा अहिले ६५ घरधूरी किसानले प्रत्येक दिन ६ देखि आठ सय लिटरसम्म दूध ल्याउने गरेका छन्। उनले गाईको दूधको प्रतिलिटर ३५ र भैंसीको ४५ रुपैयाँ भुक्तान गरिरहेको दूध उत्पादक किसान पुखमान पौडेलले बताए। उनले भने, ‘दिनमा ५० लिटरसम्म दूध पु¥याउने गरेको छु। मासिक ४५ देखि ५० हजार रुपैयाँ दूधबाट कमाउँछु।’ उनले गाउँमा छुर्पी उद्योग रहेका कारण दूध नबिक्ला भन्ने चिन्ता हटेको बताए।

स्थानीय स्रोत र साधन अधिकतम प्रयोग गरी सञ्चालन गरिएको उद्योगमा ‘स्पोट’ र ‘फ्याटअल’ जातका छुर्पी बन्ने गरेका छन्। बजारीकरणका लागि समस्या नभएको बताउँदै यहाँ उत्पादित छुर्पी इलाम हुँदै भारत, कोरिया , अमेरिका लयातका मुलुकमा निर्यात हुने गरेको देवेन्द्रको भनाइ छ। उनले भने ‘स्पोट’ छुर्पी इटहरी डिलरलाई र ‘फ्याटअल’ इलामलाई दिने गरेको छु।’ छुर्पी लिन व्यापारिक कम्पनीका मान्छे उद्योगसम्म नै आउने र मासिक रूपमा भुक्तानी दिने गरेको पौडेलले बताए।

दूधको परिकार उत्पादन हुने जिल्लामा इलामपछि तेह्रथुमलाई बनाउन यस क्षेत्रमा लागेका देवेन्द्रको उद्योगमा मासिक दुई लाखको नौनी घिउ उत्पादन भइरहेको छ। दुग्धजन्य परिकार बनाउन घरेलु तथा साना उद्योग विकास समितिले सोही ठाउँमा १५ दिने तालिमसमेत सञ्चालन गरेको छ। पर्यटकीय क्षेत्र तिन्जुरे, मिल्के, जलजले ९टीएमजे० क्षेत्रको प्रवेशद्वारको चित्रेबजारसँगै रहेको फुलेक गाउँमा उत्पादिन दूधका परिकार बाटोबाटै पसलमा राखिने तयारी रहेको पौडेलले बताए।

१० जनाको परिवार रहेका देवेन्द्र छुर्पीको आय स्रोतबाट परिवार धानेर बाँकी बचत गरिरहेका छन्। छुर्पीको माग बढ्दै गएको छ। उनले आधुनिक उद्योगमा रूपमा आफ्नो उद्योगलाई विकास गर्ने लक्ष्य रहेको सुनाए। ‘यसका लागि एक रोपनी जग्गा पनि खरिद गरिसकेको छु’, उनले भने ‘आगामी वर्षसम्ममा नयाँ र व्यावस्थित छुर्पी उद्योग बनाउने योजना छ।’

पछिल्लो समय नेपालमा छुर्पी बनाउने कम्पनी खुल्ने क्रम बढ्दै गएको र विदेशमा यस किसिमको छुर्पी निर्यात गर्ने क्रम बढ्दै गएको व्यवसायी बताउँछन्।
श्रोत अन्नपूर्ण पोष्ट