ब्रेकिन्ग न्युज

पोखराको तरकारी तथा फलफूल प्रयोगशाला ६ महिनादेखि बन्द

पोखरा : तरकारी तथा फलफूलमा के कति विषादी छ भनेर जाँच्न सुरु गरिएको प्रयोगशाला ६ महिनादेखि बन्द छ। पोखराको मुख्य तरकारी तथा फलफूल बजार शान्तिवनस्थित उक्त प्रयोगशाला १ वर्षअघि २४ लाख रुपैयाँ खर्चेर सुरु भएको थियो।

कृषि मन्त्रालय, कृषि विभाग, बाली संरक्षण निर्देशनालयको मातहतमा विषादी अवशेष द्रुत विश्लेषण इकाई स्थापना भएर ६ महिनामात्रै तरकारी तथा फलफूलको विषादी जाँचिएको थियो। भदौको अन्तिम सातादेखि प्रयोगशाला चालु छैन।

प्रयोगशाला पहिला संघ वा प्रदेश अन्तर्गत रहने भन्ने अन्योल थियो। अहिले प्रदेशमै रहने भनिए पनि फेरि कुन कार्यालय मातहत रहने अन्योल छ। प्रयोगशाला सञ्चालनका लागि दरबन्दीसमेत नहुँदा समस्या आएको केन्द्रीय कृषि प्रयोगशाला काठमाडौंका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारी बताएका थिए। नयाँ संरचनामा जाँदा केही समय लागेको उनले २ महिनाअघि बताए पनि अझै सञ्चालनमा नआएको हो।

प्रयोगशाला सञ्चालनका लागि साउन र भदौ २ महिनासम्म बाली संरक्षण कार्यालयबाट एकजना अधिकृत र एकजना अस्थायी कार्यालय सहयोगी खटाइए पनि अस्थायी रुपमा खटाइएकी कर्मचारीले दुई महिनासम्म तलब दिन नसक्दा समस्या परेको प्रदेश स्तरीय बाली संरक्षण प्रयोगशालाका प्रमुख वरिष्ठ वाली संरक्षण अधिकृत धनबहादुर रानाले बताए। कर्मचारीको तलब कुन कार्यालयबाट दिने भन्ने अन्यौल रहेकोले पनि समस्या आएको हो।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा परीक्षणका क्रममा तरकारी तथा फलफूलमा ४५ प्रतिशत भन्दा बढी एसिटाइल कोलिन इस्रेज इनजाइमको रोकावट मात्रा भए त्यस्ता तरकारी खानका लागि अयोग्य हुने भएकाले त्यस्ता तरकारी जफत गरी नष्ट गरिनुको साथै किसानमा सचेतनाको कार्यक्रम चलाइँदै आएको थियो।

प्रयोगशाला बन्द हुँदा परीक्षण नगरिएका तरकारी तथा फलफूल सोझै उपभोक्ताको भान्छामा पुग्दै आएको छ। किसानले तरकारी तथा फलफूलमा विषादी बढी प्रयोग गरेको अवस्थामा, प्रतिबन्धित विषादी प्रयोग गरेको र विषादी प्रयोग गरेपछि तरकारी तथा फलफूलमा विषको असर रहँदै बजारमा बिक्री गर्न लगेमा त्यस्ता तरकारीमा एसिटाइल कोलिन इस्रेज इनजाइमको रोकावट मात्रा बढी देखिन्छ।

कृषि मन्त्रालय अन्तर्गत व्यावसायिक तथा व्यापार आयोजना ९प्याक०को आर्थिक सहयोगमा द्रुत विषादी विश्लेषण प्रयोगशाला सञ्चालनका लागि मेसिनको व्यवस्था गरेको थियो। सातै प्रदेशमा प्रयोगशाला स्थापना गर्ने लक्ष्य अनुसार बुटवल, नेपालगन्ज, झापा, सालाही, कैलाली, विर्तामोडमा पनि सँगसँगै विषादी बिश्लेषण प्रयोगशाला स्थापना भएको थियो। अन्य प्रदेशमा पनि यहाँको जस्तै समस्या रहेको कर्मचारीले बताएका छन्।

बालीनालीमा विषादी प्रयोग गरी सकेपछि ती बालीनाली कति दिनसम्म टिपेर बिक्री तथा उपभोग गर्ने भन्ने सामान्य विषयमा किसानले ध्यान नदिँदा त्यस्ता तरकारी र खाद्यन्नको प्रयोगले मानव स्वस्थ्यमा असर गरिरहेको रानाले बताए। विषादी भएका तरकारी तथा खाद्यान्नको प्रयोगले क्यान्सर, स्वास प्रस्वासमा समस्या, स्नायुजन्य रोग लगायत विभिन्न प्रकारका जटिल रोग लाग्ने वरिष्ठ बाली संरक्षण अधिकृत रानाले जानकारी दिए।
श्रोत अन्नपूर्ण पोष्ट