ब्रेकिन्ग न्युज

चिनियाँ गाई र विदेशी लगानीले डेरी क्षेत्र ध्वस्त बनाउने सङ्घको निष्कर्ष, विधेयक नसच्याए सडक आन्दोलन गर्ने चेतावनी

काठमाडौं : केन्द्रीय दुग्ध सहकारी सङ्घले डेरी क्षेत्रमा प्रदेश सरकारले अघि बढाएको चिनिँया गाई खरिदसम्बन्धी समझदारी र संसदमा दर्ता भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण तथा एकीकरण गर्न बनेको विधेयकमा डेरी क्षेत्रमा विदेशी लगानी खुल्ला गर्न नहुने निष्कर्ष निकालेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्घले चीनबाट गाई आयात र विदेशी लगानी भित्र्याउँदा कृषिजन्य उत्पादनको क्षेत्र डेरी धरासायी हुने र अर्थतन्त्रको विकासमा बाधा पुग्ने बताएको हो ।

दुग्ध सहकारी सङ्घ संस्था र सरोकारवालासँग कुनै छलफलबिना नै चाइनिज गाई ल्याउने सम्झौता ग्रामीण गरिबी निवारण गर्ने नाममा स्वदेशी उद्योग र किसानलाई पेशाबाट नै पलायन बनाउने उद्धेश्यले प्रेरित रहेको सङ्घका अध्यक्ष नारायण देवकोटाले बताए । भर्खरै आत्मनिर्भर उन्मुख रहेको डेरी क्षेत्रमा आयातीत चाइनीज गाई र बहुराष्ट्रिय कम्पनीको प्रवेशले स्वदेशी डेरी उद्योग धरासायी हुने निश्चित भएको उनको तर्क छ ।

विदेशी लगानीभन्दा पनि विदेशी सीप र प्रविधि भित्र्याउन आवश्यक रहेको बताए । ‘डेरी क्षेत्रमा विदेशी लगानीभन्दा प्रविधि ल्याउनु आवश्यक छ’ उनले भने, ‘सहकारीमार्फत दूध सङ्कलन गरी यहाँका स्वदेशी डेरी उद्योग चलेका छन् । अहिले नै विदेशी लगानी आवश्यक छैन ।’

पत्रकार सम्मेलनमा चितवन अन्नपूर्ण दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष भगीरथ तिमल्सिनाले नेपालमा चाहिने जति गाई एक वर्षभित्र नै उत्पादन गर्न सकिने बताए । उनले चीनबाट ल्याइने गाईको मौसम, वातावरणी प्रभाव, घाँस तथा नश्लको व्यवस्थापन, आवश्यक पूर्वाधार र दुग्ध उत्पादनका क्षेत्रमा काम गर्ने सङ्घसंस्था र सरोकारवालासँग कुनै छलफल नै नगरी हचुवाका भरमा ल्याउन लागिएको बताए । ‘यहाँ कति गाई चाहिने हो । हामी एक वर्षभित्र गाइका बाच्छाबाच्छी तयार गर्न सक्छौं । चाइनाबाट महँगोमा गाई ल्याएर मात्रै हुन्छ आवश्यक पूर्वाधार र घाँसको व्यवस्थापन हुनुपर्दैन’ उनले भने, ‘हचुवाको भरमा गाई ल्याएर सरकारी रकम दुरुपयोग नहोस् भन्ने पक्षमा हामी छौं ।’

दुग्ध उत्पादक किसानका समस्या बेवास्ता र स्वदेशी डेरी क्षेत्रमा भएको विदेशी लगानी खुल्ला गर्ने कुरा विधेयकमार्फत नसच्याए कृषकहरुले चरणबद्ध आन्दोलन गर्ने सङ्घले जनाएको छ । पशुपालन कृषकहरु सडकमा आउन बाध्य नपार्न सरकारलाई सचेत समेत गराइएको छ ।

सङ्घले विधेयक संशोधन अर्थात कृषिजन्य उत्पादनका क्षेत्रमा लगानी खुल्ला गर्ने गरी दर्ता भएको विधेयक सच्याउन प्रधानमन्त्री, कृषिमन्त्री र अर्थमन्त्री समेतलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।

चाइनाबाट गाई ल्याउने र कृषिजन्य उत्पादनका क्षेत्रमा विदेशी लगानी ल्याउनु आवश्यक नरहेको भन्दै डेरी एसोसिएसन, दुग्ध विकास संस्थान र डेरी उद्योग सङ्घले यसअघि नै सरकारको ध्यानाकर्षण गराएका छन् । कुनै बहुराष्ट्रीय कम्पनीको प्रवेशले नेपाली डेरी उद्योगमा निजी क्षेत्रले गरेको लगाानी र स्वदेशी किसानलाई मर्का पुग्ने डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।

अहिले स्वदेशमा दैनिक झन्डै ५ लाख लिटर दूध उत्पादन भइरहेको छ । २० हजार प्रत्यक्ष रोजगारी र ५ लाख किसान प्रत्यक्ष दूध उत्पादनमा संलग्न छन् । झन्डै १ हजार ८०० सय दुग्ध सहकारीमार्फत दूध सङ्कलन गरी डेरी उद्योग सञ्चालन भइरहेको छ ।

बेला बेलामा किसानले दूधको मूल्य नपाएर या दूध बढी भएपछि मिल्क हलिडे मनाउनुपर्ने बाध्यता सुनाउँदै अध्यक्ष तिमल्सिनाले बहुराष्ट्रिय कम्पनीले डेरी उद्योग झनै धरासायी बन्ने बताए ।