ब्रेकिन्ग न्युज

समयले बनाएको व्यावसायिक किसान पंगेनी

समय परिस्थतिले कृषि क्षेत्रमा हामफल्न पुगेका युवा कृषक भास्कर पंगेनी आमा बुवा र एक बहिनी संग काठ्माडौंमा बस्थे, २०६५ सालतिर उनको बुवा हराउनुभयो, धेरै खोज्दा पनि फेला पार्न सकिएन , काठमाडौँको महंगी २ जना बालबच्चा पाल्न आमालाई गाह्रो थियो । यस विच २– ३ वर्ष त बुवा आउने आशमा काठमाडौको महंगीमा संघर्ष गरेर उनको परिवार बस्यो, आमालाई महंगीमा आफुहरुलाई एक्लै पाल्न गाह्रो भएको उनले बुझेका थिए, यहि समस्या बुझि आमासँग बाणगंगा ३ कपिलवस्तु गाउँमै गई खेतबारीमा काम गरौँ, घरभाडा पर्देन, कमाइ थोरै भएपनि बचाउन सकिन्छ भन्ने सल्लाह गरे र उनको परिवार २०६९ सालमा गाउँ फर्कियो ।

सानै देखी काठमाडौँमा हुर्किएका उनलाई विरुवा कसरी उम्रन्छ, त्यसलाई के–के चाहिन्छ केहि पनि थाहा थिएन,तर पनि उनि लगनशिल भएर लागिपरे उनलाई जसरी पनि सागसब्जी फलाउनुथियो । हरेक कुरा उनको लागि जिज्ञाशा हुन्थ्यो, उनले माटोमा गरेको परिश्रम खेर गएन, उनको परिश्रमले रङ ल्यायो, सागसब्जी आफुलाई पुगेर पनि छिमेकी घरहरुमा बाड्न थाले, विस्तारै अलिअलि विक्री हुन थाल्यो । सो आम्दानीले घरको नुनतेलको खर्च पुग्न थाल्यो, यस सँगै उनलाई पनि माटोमा मेहनत गर्न अझ रहर लाग्यो । काम गर्दै जाँदा कहिले सफल त कहिले असफल हुदै सफलता र असफलता दुबैबाट पाठ सिकेर उनले कृषिलाई निरन्तरता दिदै गए । यस विचमा उनले स्कुलमा पठाउन थालेका थिए, तर स्कुल पढाउँदा आएको आम्दानी भन्दा पनि विहान बेलुका गरेको कृषिबाट आएको आम्दानी धेरै हुन थालेपछि ४ वर्ष देखी अप्नाउदै आएको शिक्षण पेशा छाडे र २०७४ सालबाट कनैया अर्गानीका फार्म तथा नर्सरी प्रा.लीको नामबाट पूर्णरुपमा नै कृषि क्षेत्रमा समर्पित भएर लागे ।

खुल्ला रुपमा खेती गरिने भएकाले उनले कृषिमा २ लाख भन्दा धेरै लगानी गरेनन्, खुल्ला जमिनमा मल्चिङ प्रयोग गरी तरकारी खेती गर्दै आएका पंगेनी विरुवा भने कोकोपिटमा राखेर नर्सरी ट्रे मा नै उत्पादन गर्छन् । उनले उत्पादन गरेको बिरुवा आसपासका धेरै मानिसहरुले उत्पादनका लागि प्रयोग गर्छन् । आफूले उत्पादन गरेको विरुवाको नियमित ग्राहक नै १२ सय भन्दा धेरै भएको उनको भनाइ छ । यसरी कृषि क्षेत्रमा होमिएका पंगेनीलाई आजका दिन सम्म पछाडि फर्केर हेनुपरेको छैन । कृषि क्षेत्रमा लागेर उनले नाम र दाम दुबै कमाएका छन् । बार्षिक रुपमा खर्च कटाएर १० देखी १२ लाख रुपैँया आम्दानी हुने उनले जानकारी दिए । उनको फार्ममा नियमित रुपमा ८ जनाले रोजगारि पाएका छन् । जिल्लामा मात्र नभई उनलाई केन्द्र तिर पनि धेरैले कृषि क्षेत्रका नमुना किसानको रुपमा चिन्दछन् । अबको केहि वर्षमा नेपाली कृषि क्षेत्रले आफूबाट धेरै कुरा पाउने उनको भनाइ छ । पंगेनीले सरकारी अनुदान भने केहि पनि लिएका छैनन् । तरकारी मेहनत गरी राम्रो उत्पादन भएको समयमा भारतिय तरकारी धेरै नेपाल आइ नेपाली तरकारीले मुल्य नपाउँदा भने उनलाई धेरै दुख लाग्छ ।