ब्रेकिन्ग न्युज

अलैची खेतीले नै बनायो नमुना किसान

फिदिम :भन्छन् मान्छेलाई वियोगले बिजोग पार्छ तर यो कथन पाँचथरको याङवरक १ च्याङथापु समरजुङका शेखर पोख्रेलको जीवनमा लागू हुँदैन। कलिलै उमेरमा पिता गुमाएका शेखरले धेरै दुख छिचौल्दै सफलता हात पारे । अहिलेको समयमा आईपुग्दा उनी गाउँकै एक नमुना किसानको पहिचान बनाउन सफल भएका छन् ।

परिवारका एक्ला छोरा शेखरलाई बुवा टंकप्रसाद पोख्रेलको निधानपछि घरपरिवार चलाउन निकै हम्मेहम्मे परेको थियो। लेकाली जमिनमा खाद्यान्न उत्पादन कम हुन्थ्यो। परम्परागत रूपमा गरिने निर्वाहमुखी खेतीले घरपरिवारमा खान लाउन नै समस्या थियो। उनले धेरै विकल्पको खोजी गरे।

दुःख र पीडा परिवर्तनको आधार हो भनेजस्तै शेखरले पनि खेती प्रणालीलाई परिवर्तन गर्ने सोच बनाए। लेकाली जमिनमा अलैंची उत्पादन राम्ररी हुने भएपछि उनले व्यावसायिक रूपमा अलैंची खेती गर्ने योजना बनाए। तर, शेखरसँग अलैंची खेतीका लागि उपयुक्त जमिन पनि थिएन। उनले अलैंची उत्पादन हुने जमिनको खोजी गरे। अलैंची खेती गर्ने जमिन प्राप्त गरे। तर, उनीसँग जमिन खरिद गर्ने पैसाको अभाव थियो। ‘जमिन खरिद गर्ने पैसा नभएपछि निकै समस्यामा परेको थिए’, शेखरले विगत सम्झँदै भने, ‘तर, आँटेपछि भगवानले पु¥याउँदा रहेछन्। जमिन खरिदका लागि समस्या भएन।’

अर्को वर्ष पैसा दिँदा हुने शर्तमा शेखरले छिमेकीबाट अलैंची उत्पादन हुने जमिन खरिद गरे। उक्त जमिनमा उनले अलैंचीको बगान विस्तार गर्न थाले। छरछिमेक र आफन्तबाट ऋण काडेर जग्गादातालाई पैसा पनि चुक्ता गरिदिए।

शेखरले २०५४ सालदेखि अलैंची खेती सुरु गरेका हुन्। त्यस बखत उनले दुई रोपनी जमिनमा अलैंची खेती लगाएका थिए। ‘अलैंची राम्ररी नै उत्पादन भयो,’ उनले भने, ‘अलैंची बिक्री गरेर ऋण तिरेँ र थप जमिन पनि जोड्दै गएँ।’ शेखरले अलैंचीबाट आम्दानी भएको रकमले खेती गर्ने जमिन खरिद गरे। दुई रोपनीबाट सुरु गरेका उनले अहिले ७० रोपनी जमिनमा खेती गर्छन्। ‘अलैंची खेती गरेको जमिन त्यसकै आम्दानीले खरिद गरेको हो’, उनले भने, ‘अलैंची हुने जमिन एउटा पनि पैतृक जमिन हैन। सबै खरिद गरेको हो।’
शेखरले अलैंची खेती सुरु गरेको २१ वर्ष भयो। राम्ररी अलैंची उत्पादन गर्न थालेको १५ वर्ष पुगेको छ। यो अवधिमा उनले अलैंची खेतीका लागि ७० रोपनी जमिन खरिद गरिसकेका छन्। गाउँमै ठूलो घर बनाएका छन्। छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरेका छन््। यो सबै अलैंचीकै आम्दानीले सम्भव भएको उनी बताउँछन्। २०५४ सालमा लगाएको अलैंची बगानबाट तीन वर्षपछि उत्पादन दिन थालेको थियो। ‘उत्पादन दिन थालेको पहिलो वर्ष त तीन किलो मात्र अलैंची फलेको थियो’, उनले भने, ‘अहिले ३० मनभन्दा धेरै बनाउँछु।’ अधिकतम ४० मनसम्म अलैंची उत्पादन गरेको उनले सुनाए। यो वर्ष उत्पादनमा केही गिरावट आएको छ।

शेखरले पूरै समय अलैंची खेतीकै लागि खर्चन्छन्। असार महिनादेखि अलैंची फाँड्न थालेका उनी असोज महिनासम्म बगान सफा गर्ने गर्छन्। असोजदेखि मंसिर महिनासम्म अलैंची टिप्न र थन्काउन लाग्ने उनको भनाइ छ। अरु महिनामा अलैंचीका लागि सिँचाइको व्यवस्था र अलैंची रोप्ने काममा तल्लीन हुने गरेका छन्। ‘तीन महिना त मलाई अलैंची टिप्नै लाग्छ’, उनी भन्छन्, ‘बाँकी समय पनि यसकै लागि खर्चने गरेको छु।’

पछिल्लो समय अलैंची उत्पादनमा ह्रास आएकोप्रति शेखर चिन्तित छन्। रोगकीराको प्रकोपले गर्दा बगान सखाप हुने स्थितिमा पुगेकाले उनी चिन्तित बनेका हुन्। ‘बगान सुधार गर्ने र गुणस्तरीय अलैंची उत्पादनको विषयमा तालिम पनि लिएको छु’, उनले भने, ‘तर, पनि पूर्ण रूपमा रोगकीरालाई नियन्त्रणमा लिन सकिएको छैन।’ अलैंचीबाट दामसँग नाम पनि कमाएका शेखर अलैंचीको बगान व्यवस्थापनका लागि खटिएका छन्। अलैंचीको बजार मूल्य अस्थिर भएकाले चिन्ता हुने गरेको उनी बताउँछन्। मूल्य निर्धारण र बजार व्यवस्थापनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।