ब्रेकिन्ग न्युज

बालीमा मल छर्ने समय गएपछि आयो अनुदानको मल


पुष १४ काठमाडौँ
गहुँ र तोरीखेतीमा मल छर्ने समय सकिनै लाग्दा सरकारले अनुदानको मल आयात गरेको छ। खेती लगाउने समयमा भएको अभाव टार्न बाली सप्रिने बेलामा बल्ल मल आएको हो। बालीमा मल छर्ने समयभन्दा ढिलो गरी पश्चिम नेपालका जिल्लाका लागि करिब २५ मेट्रिक टन मल आयात गरिएको छ।

गहुँ र तोरीका लागि अभाव भएपछि सरकारले भारतबाट जीटूजी माध्यमबाट युरिया मल आयात गरेको हो। रूपन्देहीको बेलहिया नाका हुँदै भैरहवामा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनी लिमिटेडमा मल ल्याइएको छ।

कार्यालयमा मल भित्रिएसँगै पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रमा मल ढुवानी भएको कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए। डोटी, सुर्खेत, नेपालगन्ज, कपिलवस्तु, स्याङ्जा, बर्दिया, पाल्पा र रूपन्देही जिल्लाका लागि तीन सय ४३ टन युरिया मल ढुवानी भएको छ। ‘मल आउनासाथ वितरण गरिएको छ। केही दिनभित्रै किसानले मल पाउनेछन्ु, कार्कीले भने।

गहुँ र तोरीका लागि अभाव भएपछि सरकारले भारतबाट जीटूजी माध्यमबाट युरिया मल आयात गरेको हो।

साल्ट ट्रेडिङमा पनि भारतबाट ग्लोबल टेन्डरमार्फत पीपीएलबाट खरिद गरेको २५ सय मेट्रिक टन युरिया मल आइपुगेको छ। एक हप्ता भित्रै थप पाँच हजार मेट्रिक टन युरिया आउने जनाइएको छ। गहुँमा तीन पटक युरिया मल राख्नुपर्छ। ‘छर्ने समयमा मल राख्न पाइनएन। अहिले बल्ल मल आएको छ। त्यो पनि पाइन्छ कि पाइदैनु, किसान हरेराम यादवले भने। बजारमा जस्तो पाइन्छ त्यस्तै मल राखेर गहुँमा प्रयोग गरिएको उनले बताए।

अनुदानको सरकारी मल आयात समयमा नभएपछि सिमा नजिकका किसानले चोरी नाका हुँदै भारतीय बजारबाट गुणस्तर र पोषकतत्व कम भएको रासायनिक मल राख्ने गरेका छन्। यसले एकातिर रकम बढी खर्च हुने र अर्कोतिर उत्पादन बढ्न नसकेको किसानको भनाइ छ।

गएको वर्ष गहुँ र तोरीको सिजनमा कृषि सामग्री कम्पनीबाट डीएपी १४ हजार पाँच सय ७५ मेट्रिक टन, युरिया १८ हजार मेट्रिक टन र पोटास नौ सय २५ मेट्रिक टन बिक्री भएको थियो। समयमा मल, बिउ नपाउँदा रूपन्देहीमा गहुँ र तोरीखेती कम हुँदै गएको छ। तोरीखेती त व्यावसायिकभन्दा घरायसी प्रयोजनका लागि मात्रै हुने गरेको छ। रुद्रपुर, गजेडीसहित पश्चिम रूपन्देहीमा तोरीखेती हँुदै आएको थियो। पछिल्लो समय भएको जग्गा प्लटिङका कारण तेलहन बालीको उत्पादन अत्यन्तै निराशाजनक रहेको कृषि विकास कार्यालयको तथ्यांक छ।

दलहन र तेलहन आयात गर्नु परेको छ। जिल्लामा खपत हुने तेलहनमध्ये ८० प्रतिशत र दलहन ७० प्रतिशत आयात हुन्छ। यी दुई बाली जिल्लामा क्रमश ः करिब ६१ सय र ६३ सय मेट्रिकटन उत्पादन हुन्छ। हाल रूपन्देहीमा करिब दुई सय ५० हेक्टरमा मात्रै तोरीखेती हुँदै आएको बालीविकास अधिकृत विनोद ज्ञवालीले बताए।