ब्रेकिन्ग न्युज

रुपन्देहीको छपियामा माछा पर्यटन बढ्दै

मंसिर २५ काठमाडौं
‘माछापालनको नमुना क्षेत्र’का रूपमा विकास हुँदै गरेको रूपन्देहीका छपियालाई मत्स्य पर्यटक भि¥याउने योजना थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरणअन्तर्गत छपियालाई केन्द्र भागमा राखेर ‘मत्स्य जोनको कार्यक्रम सञ्चालनमा छ ।

‘मत्स्य जोनसँगै पयर्टकलाई छपिया भि¥याउने गरी काम भइरहेको छ’, मत्स्य व्यवसायी संघका अध्यक्ष पुण्यप्रसाद चौधरीले भने । छपियामा झन्डै चार दशक अघिदेखि नै व्यावसायिक माछापालन हुँदै आएकाले यो पर्यटनको सम्भावित क्षेत्र रहेको उनले बताए ।

सियारी गाउँपालिकास्थित छपियाका हरेक सर्वसाधारणले व्यावसायिक रूपमा माछापालन गर्दै आएका छन् । यस क्षेत्रबाट मात्रै दैनिक १५ क्विन्टल माछा उत्पादन हुँदै आएको छ ।

कृषि विकास कार्यालय र माछा व्यवसायीहरूले छपियामा कृषि पर्यटक भि¥याउने योजनासहित भौतिक संरचना निर्माण गरेका छन् । निजी लगानीमा रिसोर्टहरू खुलेका छन् भने सरकारले किसानलाई अनुदान दिँदै आएको छ ।

सियारी गाउँपालिका ५ दयानगरमा बनघुसडीमा व्यवसायी टंकप्रसाद ज्ञवालीले विश्वास मत्स्यपालन तथा गाई फार्मसँगै पर्यटकलाई लक्ष्य गरी सेडहरू निर्माण गरेका छन् । छपिया क्षेत्रमा ११ वटाभन्दा बढी माछा फार्म सेडहरू निर्माण भएका छन् । पानीमाथि बनाइएको सेडमा बसेर माछा मार्दै माछाका परिकारको स्वाद लिन पाइने व्यवस्था गरिएको छ । ‘पर्यटकलाई आकर्षित गर्ने योजनासहित पोखरीमाथि सेड बनाइएको हो’, ज्ञवालीले भने ।

रूपन्देहीमा झन्डै एक हजार ५० हेक्टर क्षेत्रमा माछा उत्पादन हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमपछि पाँच सय हेक्टर क्षेत्रफल बढ्नेछ ।

छपिया क्षेत्रमा चार दशकअघिदेखि माछा पालिए पनि सात वर्ष अघिदेखि अभियानमुखी माछा उत्पादन थालिएको हो । यहाँको एक सय ६७ हेक्टर क्षेत्रफलको एक हजार दुई सय पोखरीमा माछापालन भएको छ । पाँच सय ५० व्यावसायिक किसानले वार्षिक एक हजार मेट्रिक टन माछा उत्पादन गर्छन् । यसबाट वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ । कम मेहनत र कम समयमा नगद आम्दानी हुने भएकाले किसानहरू व्यावसायिक माछापालनमा आकर्षित छन् ।

माछापालनसँगै सुरु भएका रेस्टुराँहरूमा दैनिक २०÷३० जना अन्तरिक पर्यटक माछाको स्वाद लिन पुग्ने गरेका छन् । ‘बुटवलबाट झन्डै २० किलोमिटर टाढा रहे पनि माछाका पारखीहरू रेस्टुरेन्ट आउने गरेका छन्’, ज्ञवालीले भने । फिस करी, फिस मःमसहित माछाको अचार, माछाको टिक्कालगायत परिकार बनाउने गरिएको छ । यिनै परिकारको स्वाद लिन जाडोमा आन्तरिक पर्यटकको संख्या बढ्ने गरेको छ ।

दयानगर क्षेत्रमा मात्रै १७ वटा माछा फार्म छन् । गाउँमै माछा बजार, जिउँदो माछा पसल, दाना उद्योग र मत्स्य प्रशोधन केन्द्र छन् । माछापालनलाई सहज बनाउन किसानले १२ वटा कृषक समूह र जलदेवी मत्स्य उत्पादन सहकारी संस्था खोलेका छन् । कृषि विकास कार्यालय र मत्स्य विकास केन्द्रको समन्वयमा यी कृषक समूह र सहकारीले वर्षभरि नै माछा उत्पादन र व्यावसायिकतामा सहयोग गर्ने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय रूपन्देहीका मत्स्य विकास अधिकृत रमेश जैसवालका अनुसार माछापालनमा दयानगरका सामान्य किसानसँगै उच्चस्तरका व्यवसायीसमेत सहभागी छन् । ‘आठ करोड रुपैयाँ लगानीसम्मका होमस्टेसहितका माछापालन केन्द्र र रेस्टुरेन्ट खुलेका छन् । दैनिक दुई सयभन्दा बढी किसान तथा पर्यटकले स्वाद लिन पाउँछन्’, उनले भने ।

माछाका पोखरी हेर्ने र जिउँदो माछा किन्न मानिस जान थालेपछि दुई वर्षयता दयानगरको छपियालाई मत्स्य पर्यटन केन्द्र बनाउन अभियान थालिएको हो । पर्यटकलाई पोखरीमा घुमाउने, बल्छी खेलाउने, माछाका परिकार खुवाउने र बसोवासको व्यवस्था मिलाउने काम भएको मत्स्य विकास अधिकृत जैसवालको भनाइ छ ।

मत्स्य भिलेजसँगै लुम्बिनीलाई जोड्ने सम्भावना त्यहाँका व्यवसायीले देखेका छन् । पर्यटकलाई सजिलै दयानगर लैजान बुद्ध जन्मस्थल लुम्बिनी, बुटवल र भैरहवासँग बजार र सडक सञ्जाल जोडिँदैै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य जोन सञ्चालक समितिका संयोजक गणेशबहादुर साही बताउँछन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार रूपन्देहीको एक हजार एक सय हेक्टर क्षेत्रफलमा वार्षिक ५३ सय मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।

 

भूरामा पनि आत्मनिर्भर

रूपन्देही मत्स्य ह्याचरीमा पनि आत्मनिर्भर बनेको छ । माछाको पकेट जिल्ला रूपन्देही माछाको भुरा उत्पादनमा वृद्धि भएसँगै निर्यात गर्ने अवस्थामा पुगेको हो । केही समय अघिसम्म जिल्लाका माछा किसानले बाहिरी जिल्लाबाट भुरा ल्याउँदै आएका थिए । ह्याचरीको संख्या बढेसँगै भुरा उत्पादनसमेत बढेको हो ।

रूपन्देहीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछापालनमा काम भइरहेको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा झन्डै एक हजार ५० हेक्टर क्षेत्रमा माछा उत्पादन हँुदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमपछि पाँच सय हेक्टर क्षेत्रफल बढ्ने बताइएको छ ।

माछा पोखरीको संख्या बढ्दै गएपछि ह्याचरीको संख्या थपिएको थियो । अहिले रूपन्देहीकै ह्याचरीले भुराको माग थेगेको रूपन्देहीको पत्थरडाँडास्थित मण्डल मस्त्य ह्याचरीका सञ्चालक रामेश्वर मण्डलले जानकारी दिए । ‘रूपन्देहीकै उत्पादन भएका भुराले पुगेको छ’, उनले भने, ‘यहाँको भुरा रूपन्देहीबाहिर पनि पठाउन थालेका छौं ।’ रूपन्देहीबाट उत्पादित माछाका भुरा रूपन्देहीमा मात्र नभई नेपालका अधिकांश जिल्लामा जाने गरेको छ ।

रूपन्देहीमा हाल ६ वटा मत्स्य ह्याचरी र १७ वटा मत्स्य नर्सरी रहेको रूपन्देही मत्स्य उत्पादक संघका अध्यक्ष चौधरीले बताए । माछाको उत्पादन र व्यवसायीको संख्या बढे पनि पुराना पोखरी सुधार नहुँदा लक्ष्यअनुसारको उत्पादन भने भएको छैन । रूपन्देहीमा प्रतिहेक्टर आठ टन माछा उत्पादन हुने क्षमता छ ।