ब्रेकिन्ग न्युज

अलैंची बालीको पुनःस्थापना

मंसिर २४ काठमाडौ

विभिन्न रोगले सखाप भएको अलैंची बगान पुनः स्थापना भएको छ । करिब ७५ प्रतिशत नष्ट भएको बगानको क्षेत्र परिवर्तन गरेर अलैंची लगाउँदा बगान पुनःस्थापना भएको हो । इलामको तल्लो भेगमा यसअघि रोगकीराले मासिएको अलैंची बगान किसानकै पहलमा पुनः स्थापना भएको अलैंची विकास केन्द्र पान्दमले जनाएको छ ।
अलैंची बगान पुनःस्थापना भएपछि किसानले राम्रो आम्दानी गर्न थालेको अलैंची विकास केन्द्र पान्दमका प्रमुख पदम अधिकारीले जानकारी दिए ।
ढुसी र भाइरसजन्य रोगले निरन्तर मासिँदै गएको अलैंची बगानका लागि किसान आफैंले नर्सरी स्थापना गरेर धान मकै लगाउने खेतबारीमा अलैंची रोपेको अधिकारीको भनाइ छ ।
इलामका किसानले केही वर्षदेखि अलैंचीको व्यावसायिक नर्सरी स्थापना गरेर इलामसहित देशका विभिन्न क्षेत्रमा अलैंचीका बिरुवा पठाउने गरेका छन् । किसानले वार्षिक दश लाखसम्म बिरुवा बिक्री गर्ने गरेको रोङ गाउँपालिकाका नर्सरी सञ्चालक शम्शेर राईले बताए ।पछिल्लो समय किसान आफैंले नर्सरी स्थापना गरेपछि यसपटक अलैंचीको बिरुवा भने बिक्री नभएको
अलैंची विकास केन्द्र पान्दमका अधिकृत लक्ष्मीनारायण शर्माले जानकारी दिए । यस वर्ष देशभर एक करोड बिरुवा नबिकेको अलैंची विकास केन्द्र पान्दमको अनुमान छ ।
प्राविधिकका अनुसार बीउबाट उम्रेको अलैंचीमा रोग निरोधक क्षमता बढी हुने भए पनि पछिल्लो समय किसानले अलैंचीको झाँङबाटै अलैंचीको प्रसार गर्ने गरेका कारण पनि बिरुवा बिक्री घटेको हो । बिउबाट रोपेको अलैंचीले ढिलो उत्पादन दिने भएकाले किसानले झाँगका बिरुवा रोप्ने गरेको शर्मा बताउँछन् । झाँगबाट सारिएको बिरुवामा मुलबोटमा रहेको रोगकीराको समस्या प्रसार हुने भए पनि किसानले त्यही विधिलाई बढी अपनाउने गरेको इलाम नगरपालिका ३ पुवामझुवाका किसान चन्द्र खत्री बताउँछन् ।
पहिले बास्तै नगर्ने अलैंची कृषक अहिले दैनिक अलैंचीको रेखदेखमा समेत खट्न थालेको इलाम नगरपालिका ४ का किसान दीपेन्द्र कट्टेल बताउँछन् । अहिले किसानले अलैंचीबारीमा गोबरमल, गहुँतलगायत खाद्यतत्व हाल्न उत्साहित हुन थालेको कट्टेलले बताए । पहिले अलैंची टिपेपछि बगानमा कमै पुग्ने किसान गोडमेल र मलजलमा खट्न थालेको कारण पनि उत्पादन क्षेत्र र उत्पादन बढेको अधिकृत शर्माले बताए ।
जिल्ला कृषि विकास कार्यालय इलामका अनुसार इलामको एक हजार ६ सय हेक्टरमा खेती हुँदै आएको छ । यो क्रम बढ्दो अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालय इलामका वरिष्ठ कृषि विकास अधिकृत राम सोगारथ साह बताउँछन् । उनका अनुसार इलाममा वार्षिक ५७६ टन अलैंची उत्पादन हुने गरेको छ ।
अलैंचीको उन्नत प्रविधि कृषकमा हस्तान्तरण गर्ने र कृषकलाई प्रदर्शन प्रभावका माध्यमबाट प्राविधिक रूपमा खेती गर्न सक्ने बनाउन उन्नति समाबेशी वृद्धि कार्यक्रमले कृषक पाठशाला सुरु गरेको छ । उन्नतिका कृषि विज्ञ शिवलाल कार्कीका अनुसार किसानलाई नै अलैंची खेतीबारे जानकारी दिने प्रयास सुरु गरिएको हो ।
उन्नतिले इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माइजागमाई गाउँपालिका, मांसेबुङ गाउँपालिकाका सहकारी र कृषक समूहमार्फत १८ स्थानका पाँच सय ४० किसानमा पाठशाला सुरु गरेको कार्कीले बताए ।
३६ लाखको लागतमा करिब आठ महिना सञ्चालन हुने कार्यक्रममा किसानलाई अलैंचीबारीमै कृषि प्रविधि सिकाइने अलैंची विकास केन्द्र पान्दमका अलैंची विकास अधिकृत शर्माले जानकारी दिए । उनका अनुसार किसानलाई अलैंचीको नर्सरीदेखि उत्पादन र बजारीकरण गर्न महिनामा एक पटक कक्षा सञ्चालन गरिनेछ । कार्कीका अनुसार किसानलाई स्थानीय स्तरमा विषादी र मल उत्पादनका लागि व्यावहारिक ज्ञानसमेत समावेश गराइनेछ । अलैंचीमा लाग्ने कतिपय रोगकीराको उपचारका लागि स्थानीय विषादी निकै प्रभावकारी देखिएकाले स्थानीयस्तरमै विषादी उत्पादनको अभ्यास सुरु गरेको अधिकृत शर्माले जानकारी दिए ।