ब्रेकिन्ग न्युज

उखु किसानलाई फकाउदै छन् उम्मेदवार

मंसिर १८ काठमाडौं,
२०७४(उम्मेदवारले बाटो, बिजुली, खानेपानीजस्ता पूर्वाधार विकासको नारा लिएर भोट माग्ने गर्छन् तर, प्रदेश ५ अन्तर्गत पश्चिम नवलपरासीका प्रतिनिधिसभाका उम्मेदवारले उखु खेतीलाई एजेन्डा बनाएका छन् । उनीहरू उखु खेतीमा अनुदान दिने र मूल्य बढाउने आश्वासनसहित किसानसित भोट माग्ने गरेका हुन् ।

मतदाताले पनि आफ्ना उम्मेदवारसित बाटो, बिजुलीको माग प्राय गर्दैनन् । उनीहरूले बाटो बिजुलीभन्दा पनि उखु खेतीको व्यवस्थित मूल्य र यसका लागि आवश्यक मल, बीउको बन्दोबस्त गरीदिनेलाई भोट दिने बताउँछन् । यस क्षेत्रका ७० प्रतिशत भन्दा बढी किसानको आम्दानीको मुख्य स्रोत उखु हो । हरेक चुनावमा यहाँका उम्मेदवारले उखु खेतीमा राजनीति गरेर भोट मागे पनि हालसम्म किसानको समस्या भने हटेको छैन । सरकारले उखु खेतीलाई राष्ट्रिय बाली घोषणा गरे पनि समयमा मूल्य निर्धारण नहुँदा बर्सेनि एउटै समस्या बल्झिरहेको छ ।

घरदैलो र कोणसभामा व्यस्त प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार बनेका देवकरण जैसवालले आफूले जितेपछि राष्ट्रिय बाली घोषणा भएको दाबी गर्दै वैज्ञानिक मूल्य निर्धारणका लागि आफूलाई भोट दिन आहवान गर्दै हिँडेका छन् । अर्का उम्मेदवार हृदयेश त्रिपाठीले समेत शुक्रबार बेलासपुरमा भाषण गर्दै मञ्चबाट आफ्नो पहिलो प्राथमिकता उखु र किसानको समस्यालाई पहिचान गरेर बृहत् योजना ल्याउने बताए । साना दलका उम्मेदवारले ठूला दलले केही नगरेको भन्दै सरकारले नभई किसान आफैंले मूल्य तोक्ने वातावरण बनाउने आश्वासन दिँदै भोट मागेका छन् ।