ब्रेकिन्ग न्युज

माग अनुसारको चिया उत्पादन हुन नसक्दा

१८ मंसिर काठमाडौं

चिया उत्पादन हुने याम सकिँदै गएपछि अर्गानिक चिया विदेशमा मागअनुसार पुर्‍याउन नसकिएको चिया व्यवसायीले बताएका छन् ।

इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्विरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले विदेशमा अर्गानिक चियाको मागअनुसार पुर्‍याउन नसकिएको बताए ।

चियाको याम सकिएर अहिले कारखानामा दैनिक ५०० किलो मात्र हरियो पत्ती आउने गरेको छ भने कारखानाले हाल २५ प्रकारको चियाको उत्पादन गर्दै आएको सुब्बा वताउछन् ।

कारखानामा उलन, ह्वाइट र ब्ल्याक चिया धेरै उत्पादन गरिँदै आएको छ । यहाँ उत्पादन गरेको चिया चीन र युरोपियन मुलुकमा जाने गरेको छ । कारखानामा दैनिक एक हजार किलोग्रामसम्म तयारी चियाको माग आइरहे पनि पुर्‍याउन नसकिएको हो ।

बाह्र मुलुकको मागअनुसार पुर्‍याउन नसक्दा स्थानीयस्तरमासमेत बिक्रीका लागि व्यवसायीले पाउन सकेका छैनन् । यहाँ उत्पादन भएको चिया प्रतिकिलो रु ८०० देखि १५ हजार सम्ममा बिक्री हुँदै आएको छ ।

कारखानाले आफ्नै ५० रोपनी जमिन र भाडामा १०० रोपनी गरी डेढ सय रोपनीमा चिया खेती गरेको छ । कारखानामा छ जना पुरुष कामदारसहित २० जनाले रोजगारी पाएका छन् ।

कारखानाले अहिले उन्नति समावेशी परियोजनाको सहयोगबाट चिया प्रशोधन गर्ने नयाँ मेसिन खरिद गरी एउटा नयाँ कारखाना भवन निर्माण सम्पन्न गरेको छ ।

मंसिर पहिलो हप्तामा उन्नतिकै सहयोगमा किसानलाई अग्र्यानिक चिया उत्पादनसम्बन्धी तालीम दिइएको छ । सो कारखानाले उन्नतिबाट एक करोड २८ लाख सहयोग प्राप्त गरेको सञ्चालक सुब्बाले बताए।